हाम्रो विशेषता
गृह पृष्ठ - हाम्रो विशेषता
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र एउटा फराकिलो हरियाली र रमणीय सुन्दर बगैंचा हो । यहां विभिन्न प्रकारका वनस्पति र जीवजन्तुहरूको संरक्षण गरिएको छ । शंकरनगर वन विहारमा ३०० भन्दा बढी वनस्पतिको प्रजाति, र १५० भन्दा बढी चराको प्रजाति पाइन्छ । यहाँका हरियाली मैदान र सुन्दर तालहरूले पर्यटकहरूको मन लोभ्याउँछ । पर्यावरणीय शिक्षा र जागरूकता बढाउने उद्देश्यले यहाँ विभिन्न कार्यक्रमहरूको पनि आयोजना गरिन्छ । विद्यालयका शिक्षक, कलेजका प्राध्यापक ÷ विद्यार्थीहरूका लागि यो केन्द्र एक महत्वपूर्ण सिकाइ स्थल हो । यहाँ उनीहरूले प्राकृतिक सम्पदाको महत्व र त्यसको संरक्षणबारे ज्ञान हासिल गर्छन् । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा भ्रमण गर्दा जो कोहीलाई प्रकृतिसँग नजिक हुन मद्दत गर्दछ । हामीलाई पर्यावरणीय संरक्षणको महत्व पनि बुझाउँछ । यो केन्द्र हाम्रो जैविक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि एक उत्कृष्ट उदाहरण हो ।
वनवाटिकाभित्र गणेश मन्दिर, वासु स्मृति पुस्तकालय, पुष्पलाल स्मृति पार्क, वीपी वाटिका, शहीद पार्क, लखन थापा पार्क, शुकदेव गुरुङ पार्क,थारु संग्रहालय, सूचना केन्द्र र ई लर्निङ साइन्स थिएटर, बाल बगैंचा, आकाशे पुल, शहीद स्मारक, लायन्स म्याङ्गो गार्डेन, बालबालिकाको मनोरन्जनका लागि बाल उद्यान, सभा सम्मेलन गर्नका लागि प्रशस्त ठाउं छन् । वनवाटिकामा आन्तरिक पर्यटकको आकर्षण बढ्नुको एउटा मुख्य कारण यहां यस क्षेत्रमै सबैभन्दा धेरै पिकनिक शेड हुनु हो । यस्तै बालबालिकाहरु रमाउन र खेल्नका लागि थरिथरिका बाल उद्यान छन् । वनवाटिकाको आकर्षणको रुपमा १० तले भ्यू टावर र चिडियाखाना पनि रहेका छन् । एक सय ३५ फिट उचाइको भ्यू टावरमा तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र वन वाटिकाको ३० प्रतिशत गरी कुल १३ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ । लिफ्ट सिस्टमको भ्यू टावरबाट टेलिस्कोपको सहायताले लुम्बिनी, बर्दघाट,कपिलवस्तु र चुरे शृंखलाका साथै भारतको नौतनहवा, कुशीनगर, गोरखपुरसम्म अवलोकन गर्न सकिने छ । भ्युटावरबाट हुने आम्दानीबाट समग्र नगरको आर्थिक विकास र समृद्धिमा दीर्घकालीन योगदान पुग्ने देखिन्छ । यहां रहेको चिडियाखानामा चितुवा, उँट, सारस, अजिंगर, सर्प, अष्ट्रिच, हरिण, मृग,नीलगाई, खरायो, चाइनिज मुसा, मयूरलगायत २५ प्रजातिका जंगली जनावर तथा पशुपंक्षी संरक्षित छन् । बालबालिकाको मनोरन्जनका लागि रोटरी क्लब अफ बुटवलको सहकार्यमा टोय ट्रेन अर्थात ‘बालरेल’ सञ्चालनमा छ ।वनवाटिकाको मुख्य प्रवेशद्वारबाट करिब डेढ किलोमिटर उत्तर तर्फ बौद्धकालीन इनार पनि रहेको जनविश्वास छ । बुद्धले आफ्नो घर तिलौराकोटबाट मावली देवदह आउंदा जांदा यहांको इनारमा पानी पिउने गरेको जनश्रुति छ । यद्यपि यसको उत्खनन् गरी सरकारी निकायबाट पुष्टी हुन भने बांकी छ ।
यसरी हरेक खाले आगन्तुक र पर्यटकका लागि आवश्यक पर्ने विश्रामस्थल र घुम्ने ठाउं र पर्यटकमैत्री संरचनाले वनवाटिकालाई सुविधासम्पन्न र आकर्षक बनाएको छ । शहरको भिडभाड, कोलाहल, धुंवाधुलोबाट मुक्त भएर खुल्ला वातावरणमा मज्जाले रमाउन र उल्लासपुर्वक दिनभरि समय कटाउन सकिने मनोरम ठाउं बनवाटिका बनेको छ । नयाँ वर्ष, सार्वजनिक विदा, वनभोज लगायत सांगीतिक कार्यक्रमका लागि सिजनमा एकै दिन ३० देखि ४० हजारसम्म पर्यटक वनवाटिकामा आउने गरेको तथ्यांक छ । नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी वर्ष दिनमा करिब ५ लाख पर्यटक घुम्न तथा यहांको अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका र हरेक वर्ष पर्यटकको संख्या उत्साहजनक रुपमा बढ्दै गएको छ । वन वाटिकालाई थप स्मार्ट बनाउने उद्देश्यले टिकट तथा शेड बुकिङ अनलाइन बैकिङमार्फत हुने व्यवस्था गरिएको छ । यसका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आई एम एस मार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराएको छ ।