विवरण
गृह पृष्ठ - विवरण
वनबाटिका ॐ लुम्बिनी प्रदेशकै ठूलो क्षेत्रफलको भब्य पर्यटकीय स्थल
तिलोत्तमा । विश्व शान्तिका अग्रदुत बुद्धको जन्मस्थल लुम्बिनी, स्थल मार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, बुद्ध मावली देवदह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पुर्व पश्चिम र उत्तर दक्षिण राजमार्गको संगमस्थल हो रुपन्देही ।
प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा धनी रुपन्देहीको एउटा छुट्टै महत्व बोकेको पर्यटकीय स्थल हो शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र । वन वाटिकाको नामले परिचित यो ठाउं जैविक विविधताको एक महत्वपूर्ण केन्द्र पनि हो ।
वन वाटिकाको आसपासमा तत्कालीन ब्रिटिस सेनालाई नेपाली सेनाले पराजित गरेको बुटवलको जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान फुलबारी, हिलपार्क, तिलोत्तमाको कुन्ज पार्क, नन्द भाउजु ताल, सैनामैनाको पर्रोहा धाम, गैडहवा ताल, दानापुर ताल बुटवलसंगै जोडिएको सिद्धबाबा मन्दिर पनि छन् । पाल्पाको बसन्तपुरको कामाख्यादेवी मन्दिर र लुम्बिनी केबलकार तथा नुवाकोट र सिद्धार्थ केबलकार पनि वनवाटिकाबाट नजिकै छन् ।
कसरी विकास भयो वनवाटिका ?
शंकरनगर सामुदायिक वनको पश्चिमतर्फको क्षेत्रमा २०६२ सालमा स्थापना भएको वनवाटिका यतिबेला रुपन्देही जिल्लाको मात्र नभई प्रदेशकै व्यवस्थित, आकर्षक र धेरै पर्यटक घुम्न आउने गन्तव्य बनेको छ । यहाँ प्राकृतिक सौन्दर्य र जैविक विविधताको संरक्षणका लागि महत्वपूर्ण कामहरू हुँदै आएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको शंकरनगर चोकबाट करिब एक किलोमिटर पुर्वमा रहेको वनवाटिका बुद्ध जन्मस्थल लुम्बिनीबाट ३८ किलोमिटर र भैरहवाबाट १६ किलोमिटर तथा बुटवलबाट ८ किलोमिटर दुरीमा रहेको छ ।
तिलोत्तमा नगरपालिकाको वडा नं एक र दुईमा पर्ने शंकरनगर सामुदायिक वनको ५ सय ८४ हेक्टर क्षेत्रफल मध्ये ५१ हेक्टर क्षेत्रफललाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले २०६२ सालमा वन विहार तथा अनुसन्धान केन्द्र बनाइएको हो ।
जनघनत्वको चाप बढ्दै गएपछि जताततै कंक्रिटका घरले भरिंदा भविष्यमा हरियाली र रमणीय सार्वजनिक ठाउं देख्न पाइदैन भन्ने तथ्य मनन्् गर्दै बुद्धिजिवि एवं सामाजिक अगुवा स्वर्गीय बाबुराम अर्यालको परिकल्पनामा वन क्षेत्रको कांडे झाडी र खुल्ला शौच गर्ने थलोलाई आकर्षक पर्यटकीय स्थल बनाउन पहल भयो ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र नामको संस्था स्थापना गरी त्यसको अगुवाईमा वन वाटिकालाई आकर्षक पर्यटकीय स्थल बनाउन स्वर्गीय बाबुराम अर्याल संस्थापक अध्यक्ष रहेर अग्रणी भूमिका निभाउनुभयो ।
२०६२ सालमा तत्कालीन सभामुख स्वर्गीय सुवास नेम्बाङबाट शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वन वाटिकाको उद्घाटन भयो ।
समथर र फराकिलो ठाउं, राजमार्गबाट नजिकै, यातायातका साधनको सहज पहुंच भएकाले वन वाटिका सबै मौसम र समयमा आउन र घुमफिर गर्न अत्यन्त सुगम र सहज पर्यटकीय स्थलका रुपमा स्थापित भएको छ । नेपाल सरकारले पहिचान गरेका मुलुकभरिका एक सय वटा पर्यटकीय गन्तव्यको सूचीमा वन वाटिका पनि समावेश छ । शुरुवातमा सानो क्षेत्रमा फुलबारी र बाल उद्यान निर्माण गरी सञ्चालन गरिएको वनवाटिमामा पर्यटकको आगमन र आकर्षण निरन्तर बढ्दै जान थाल्यो र अहिले जिल्लाकै सबभन्दा ठूलो बनभोज स्थल र आकर्षक पर्यटकीय स्थल बनेको छ ।
के के छन् वनवाटिका भित्र ?
यहाँ विभिन्न प्रकारका वनस्पति र जीवजन्तुहरूको संरक्षण गरिएको छ । शंकरनगर वन विहारमा ३०० भन्दा बढी वनस्पतिको प्रजाति, र १५० भन्दा बढी चराको प्रजाति पाइन्छ ।
यहाँका हरियाली मैदान र सुन्दर तालहरूले पर्यटकहरूको मन लोभ्याउँछ । पर्यावरणीय शिक्षा र जागरूकता बढाउने उद्देश्यले यहाँ विभिन्न कार्यक्रमहरूको पनि आयोजना गरिन्छ ।
विद्यालयका शिक्षक, कलेजका प्राध्यापक ÷ विद्यार्थीहरूका लागि यो केन्द्र एक महत्वपूर्ण सिकाइ स्थल हो । यहाँ उनीहरूले प्राकृतिक सम्पदाको महत्व र त्यसको संरक्षणबारे ज्ञान हासिल गर्छन् ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा भ्रमण गर्दा हामीलाई प्रकृतिसँग नजिक हुन मद्दत गर्दछ । हामीलाई पर्यावरणीय संरक्षणको महत्त्व पनि बुझाउँछ । यो केन्द्र हाम्रो जैविक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि एक उत्कृष्ट उदाहरण हो ।
वनवाटिकाभित्र गणेश मन्दिर, वासु स्मृति पुस्तकालय, पुष्पलाल स्मृति पार्क, वीपी वाटिका, शहीद पार्क, लखन थापा पार्क, शुकदेव गुरुङ पार्क,थारु संग्रहालय, सूचना केन्द्र र ई लर्निङ साइन्स थिएटर, बाल बगैंचा, आकाशे पुल, शहीद स्मारक, लायन्स म्याङ्गो गार्डेन, बालबालिकाको मनोरन्जनका लागि बाल उद्यान, सभा सम्मेलन गर्नका लागि प्रशस्त ठाउं छन् । वनवाटिकामा आन्तरिक पर्यटकको आकर्षण बढ्नुको एउटा मुख्य कारण यहां यस क्षेत्रमै सबैभन्दा धेरै ३० वटा पिकनिक शेड हुनु हो । यस्तै बालबालिकाहरु रमाउन र खेल्नका लागि थरिथरिका बाल उद्यान छन् ।
वनवाटिकाको आकर्षणको रुपमा १० तले भ्यू टावर र चिडियाखाना पनि रहेका छन् । एक सय ३५ फिट उचाइको भ्यू टावरमा तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र वन वाटिकाको ३० प्रतिशत गरी कुल १३ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ । लिफ्ट सिस्टमको भ्यू टावरबाट टेलिस्कोपको सहायताले लुम्बिनी, बर्दघाट,कपिलवस्तु र चुरे शृंखलाका साथै भारतको नौतनहवा, कुशीनगर, गोरखपुरसम्म अवलोकन गर्न सकिने छ ।
भ्युटावरबाट हुने आम्दानीबाट समग्र नगरको आर्थिक विकास र समृद्धिमा दीर्घकालीन योगदान पुग्ने देखिन्छ ।
यहां रहेको चिडियाखानामा चितुवा, उँट, सारस, अजिंगर, सर्प, अष्ट्रिच, हरिण, मृग,नीलगाई, खरायो, चाइनिज मुसा, मयूरलगायत २५ प्रजातिका जंगली जनावर तथा पशुपंक्षी संरक्षित छन् ।
वनवाटिकाभित्र दुई दर्जन बढी पिकनिक स्पटका सेड निर्माण गरिएका छन् । बालबालिकाको मनोरन्जनका लागि रोटरी क्लब अफ बुटवलको सहकार्यमा टोय ट्रेन अर्थात ‘बालरेल’ सञ्चालनमा छ ।
वनवाटिकाको मुख्य प्रवेशद्वारबाट करिब डेढ किलोमिटर उत्तर तर्फ बौद्धकालीन इनार पनि रहेको जनविश्वास छ । बुद्धले आफ्नो घर तिलौराकोटबाट मावली देवदह आउंदा जांदा यहांको इनारमा पानी पिउने गरेको जनश्रुति छ । यद्यपि यसको उत्खनन् गरी सरकारी निकायबाट पुष्टी हुन भने बांकी छ ।
यसरी हरेक खाले आगन्तुक र पर्यटकका लागि आवश्यक पर्ने विश्रामस्थल र घुम्ने ठाउं र पर्यटकमैत्री संरचनाले वनवाटिकालाई सुविधासम्पन्न र आकर्षक बनाएको छ । शहरको भिडभाड, कोलाहल, धुंवाधुलोबाट मुक्त भएर खुल्ला वातावरणमा मज्जाले रमाउन र उल्लासपुर्वक दिनभरि समय कटाउन सकिने मनोरम ठाउं बनवाटिका बनेको छ । नयाँ वर्ष, सार्वजनिक विदा, वनभोज लगायत सांगीतिक कार्यक्रमका लागि सिजनमा एकै दिन ३० देखि ४० हजारसम्म पर्यटक वनवाटिकामा आउने गरेको तथ्यांक छ ।
नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी वर्ष दिनमा करिब ५ लाख पर्यटक घुम्न तथा यहांको अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका र हरेक वर्ष पर्यटकको संख्या उत्साहजनक रुपमा बढ्दै गएको केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डे बताउनुहुन्छ ।
वन वाटिकालाई थप स्मार्ट बनाउने उद्देश्यले टिकट तथा शेड बुकिङ अनलाइन बैकिङमार्फत हुने व्यवस्था गरिएको छ । यसका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आई एम एस मार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराएको सचिव फर्शुराम भण्डारी बताउनुहुन्छ ।
वनबाटिकाले ३० जना भन्दा बढीलाई प्रत्यक्ष र करिब २ सय जनालाई अप्रत्यक्ष रोजगारी दिएको कोषाध्यक्ष मनिराम भट्टराई बताउनुहुन्छ । टिकट विक्री र वनभोजमा आउनेहरुबाट लिइने शुल्कबाट वार्षिक डेढ करोड आम्दानी गर्ने वनवाटिकाले राज्यलाई वार्षिक ३५ लाख बढी कर बुझांउदै आएको छ ।
कस कसको साथ रह्यो ?
वनवाटिका निर्माणको लागि शंकरनगर सामुदायिक वनका तत्कालीन पदाधिकारीहरुदेखि हालसम्मका पदाधिकारीको साथ र सहयोग महत्वपूर्ण रह्यो ।
स्वर्गीय बाबुराम अर्यालको परिकल्पनालाई साकार बनाउन शंकरनगर सामुदायिक वनका तत्कालीन अध्यक्ष उमानाथ कंडेल, शंकरनगर गाविसका तत्कालीन सचिव लक्ष्मण अर्यालको साथ र सहयोग ज्यादै महत्वपूर्ण छ । यस्तै नक्साङकनमा इन्जिनियर खेटराज दाहाल र वनवाटिकाकै पुर्व उपाध्यक्ष स्वर्गीय केबी थापा, तत्कालीन स्थानीय विकास अधिकारी ताराबहादुर कार्कीको सहयोग पनि उत्तिकै महत्वपूर्ण थियो ।
वनवाटिकामा विभिन्न पुर्वाधार निर्माण र विकासमा पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पुर्व गृहमन्त्री बालकृष्ण खांण, लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरी, लुम्बिनी प्रदेश सांसद भगवती अधिकारी, संविधान सभा सदस्यद्वय उमा भुजेल र शारदा घिमिरे, तिलोत्तमा नगरपालिका संस्थापक नगर प्रमुख बासुदेव घिमिरे र उहां नेतृत्वको सिंगो टिम, वर्तमान नगर प्रमुख रामकृष्ण खांण र उहां नेतृत्वको टिम, रोटरी र लायन्स क्लब लगायत स्थानीय जनताको महत्वपूर्ण सहयोग रहेको छ । कोराना महामारीको समयमा शंकरनगर खानेपानी तथा सरसफाई संस्थाको सहयोग पनि हामी भुल्न सक्दैनौं ।
स्थानीय राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, सञ्चारकर्मी,उद्योगी व्यवसायीको पनि वन वाटिकाको विकासमा प्रत्यक्ष अप्रत्यक्ष योगदान रहेको छ ।
के छन् त भावी योजना ?
वनवाटिकाभित्र केन्द्रका संस्थापक अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा १० करोड बढी लागतको आधुनिक पार्क बनाउने योजना छ । त्यसको शिलान्याश समेत भएको छ । यस वाहेक वनवाटिकाभित्र रहेको प्राणी उद्यानलाई प्रदेशस्तरीय चिडियाखानामा स्तरोन्नति गर्ने योजना छ । यस्तै बोटानिकल गार्डेन (वनस्पति उद्यान),करिब २ बिघा क्षेत्रफलमा जलाशय निर्माण, एक लाख ५० हजार लिटर क्षमताको खानेपानीको ओभरहेड टंकी निर्माणको योजना छ ।
यसैगरी जंगल सफारी र शहीद स्मृति संग्रहालय निर्माण पनि प्राथमिकतामा परेका भावी योजना हुन् । यी पुर्वाधारहरु पूरा हुंदा वनवाटिकालाई जिल्ला र प्रदेशको मात्र नभई देशकै उत्कृष्ट र नमूना पर्यटकीय स्थल तथा अध्ययन र अनुसन्धान केन्द्र बन्ने निश्चित रहेको केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा बताउनुहुन्छ ।
–टिआर शर्मा